
काठमान्डौ/नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गर्नुभएको छ ।आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली यही वैशाख १३ गते आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सो घटनाका घाइते जीवनमरणको अवस्थामा रहेको जानकारी गराउँदै उहाँले घाइतेको काठमाडौँमा ल्याएर उपचार गर्न सरकारसँग माग गर्नुभयो । घटनामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै नेता पौडेलले भन्नुभयो, “देशमा सरकार छ कि छैन ? संविधानले दिएको अधिकार प्रयोग गर्दा आक्रमणमा सत्ता निकट मानिस संलग्न रहेको अध्ययनले देखाएको छ । उक्त विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिन जरुरी छ ।”
उहाँले शान्ति सुरक्षा जनताको अधिकार भएको र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गर्नुभयो । उहाँले नागरिकको सुरक्षामा सरकार गम्भीर हुन माग गर्नुभयो ।नेता पौडेलले केही दिनअघि काठमाडौँमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गर्नुभयो ।