लक्ष्य अनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल

127
0
Share:

काठमान्डौ/सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताउनुभएको छ । कुल रु १४ खर्ब तीन अर्ब राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा रु सात खर्ब तीन अर्ब मात्रै राजस्व सङ्कलन हुनु राम्रो नभएको उहाँको भनाइ छ ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले यही अनुपातमा राजस्व उठ्दा चालु आवको बाँकी अवधिमा करिब दुई खर्ब राजस्व थपिने बताउनुभयो ।

 

“यो भनेको लक्ष्यको करिब ६४ प्रतिशत मात्रै हुन्छ, यो किन र कसरी भएको छ ? किन राजस्व क्षमतामा ह्रास आएको छ ? यस विषयमा सदनमा गम्भीर समीक्षा हुनु आवश्यक छ, आजका मितिसम्म सरकारले जम्मा नौ खर्ब ७६ अर्ब खर्च गरेको छ, खर्च र आम्दानीका बीचमा तालमेल देखिएन, त्यस्तै अनुदान रु ५५ अर्ब प्राप्त गर्ने भनेकामा रु पाँच अर्ब अर्थात् आठ दशमलव ६६ प्रतिशत पनि प्राप्त गर्न सकेका छैनाैँ”, उहाँले भन्नुभयो ।वैशाख १४ गतेसम्मको चालु खर्च रु सात खर्ब २७ अर्ब रहेको उल्लेख गर्नुहुँदै सांसद पौडेलले चालु खर्च धान्न रु २४ अर्ब ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । चालु खर्च धान्नसमेत राजस्वको आर्जन पर्याप्त नहुनु अत्यन्त गम्भीर विषय भएको उहाँको भनाइ थियो ।

 

दिगो एवं फराकिलो आर्थिक वृद्धिको कुरा गर्ने मुलुकमा चालु खर्च धान्न ऋण लिनुपर्ने अवस्था सिर्जना हुने विडम्बनापूर्ण अवस्था रहेकामा सांसद पौडेलले सरकारको ध्यानाकर्षण गराउनुभयो । वैशाख १४ गतेसम्म चालु खर्च लक्ष्यको ६१ दशमलव ५२ प्रतिशत र पुँजीगत खर्च लक्ष्यको ३० दशमलव ४९ प्रतिशत मात्र भएको उहाँले सुनाउनुभयो ।

 

Share: