क्यान्सर अस्पतालमा बगैँचा निर्माण

213
0
Share:

काठमान्डौ/बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बगैँचा निर्माण गरिएको छ । कृषि विकास बैंकको रु १५ लाख र क्यान्सर सेवा समाजको रु तीन लाख ५० हजारको लागतमा बगैँचा निर्माण गरिएको हो ।

 

बगैँचाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरलाई सुन्दर बगैँचाको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो । उहाँले महानगर कार्यालयसँग सरकारी कार्यालय र संस्थाका कार्यालय पसिरहरुलाई पनि हरियाली बनाउनुपर्ने बताउनुभयो । महानगरले ‘एक वडा एक उद्यान’को अवधारणा अनुसार कतिपय वडाले बगैँचा निर्माण गरेको भन्दै अन्य वडामा उद्यान निर्माण गरिँदै जाने बताउनुभयो ।

 

क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गर्दै दाहालले अस्पतालका अध्यक्ष, पदाधिकारी लगायत सबैको तदारुकता आवश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सोचेका सबै काम पूरा हुँदै आएका छन्, अब क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने सोच छ, यो पनि पूरा हुन्छ ।” अस्पतालमा भौतिक पूर्वाधारका धेरै काम भएको भन्दै उहाँले गुणस्तरमा सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम, क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्के, कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

करिब दुई बिघा क्षेत्रफलमा बगैँचा निर्माण गरिएको छ । स्थानीयवासीसँगै अस्पतालमा उपचार गर्न आउने बिरामी र कुरुवाका लागि बगैँचा उपयोगी हुनेछ । सोही अवसरमा प्रमुख दाहाललगायत उपस्थित अतिथि, अस्पतालका चिकित्सक कर्मचारीले बगैँचामा वृक्षरोपणसमेत गर्नुभएको थियो ।

Share: