
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सचिब प्रहरी कार्यालय पुगेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । गृह मन्त्रालयका पूर्व सचिव समेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् ।गृह मन्त्रालयका पूर्वसविच प्रेम राई, महेश्वर न्यौपाने र टेकनारायण पाण्डेको पालामा भुटानी शरणार्थीका नाममा नेपालीको नक्कली परिचयपत्र बनेको खुलेको थियो ।भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको थियो।
प्रतिवेदन गृह मन्त्रालयका पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो । कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए भने गृह मन्त्रालयकै शाखा अधिकृत दीपक प्रसाद न्यौपाने सदस्य सचिव थिए । सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएकाे थियाे ।हालसम्म प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरिसकेकाे जनाएको छ । पक्राउ परेकाहरूले बयानका क्रममा केही सचिवको नाम समेत खोलेका थिए ।
१३ चैतमा पहिलोपटक तीन जनालाई पक्राउ गरेको प्रहरीले त्यसको तीन दिनपछि १६ चैतमा थप एक जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी–४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ र मोरङ पथरी–१० का सागर राई रहेका छन् ।पक्राउ परेकामाथि प्रहरीले ठगी मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको छ । हालसम्म उनीहरूले एक सय ४६ जना नेपालीलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर ठगी गरेको खुलेको थियो ।
प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।उपराष्ट्रपति कार्यालयमा आउनु अघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । उच्च स्रोतका अनुसार गिरोह सँग रकम लेनदेनमा उनी समेत मुछिएका छन् ।