
काठमान्डौ/मध्यपुरथिमि नगरपालिका-२ सानोठिमी क्षेत्रमा सञ्चालित मातृभूमि इङ्ग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार असुल्यो। मध्यपुरथिमि नगरपालिकाले गठन गरेको अनुगमन समितिले गरेको अनुगमनमा गत वर्षमा लिँदै आएको शुल्कमा यस वर्ष प्रत्येक कक्षामा मासिक शुल्क रु पाँच हजार वृद्धि गरेको पाइएको छ। भर्ना शुल्क, वार्षिक शुल्क, धरौटी र अन्यसमेत गर्दा पहिलो महिनामै रु एक लाख विभिन्न शीर्षकमा शुल्क लिएको पाइएको छ।
मध्यपुरथिमि-१ लोकन्थलीमा रहेको निष्ट इङ्लिस स्कुलले यस वर्षदेखि कक्षा १ मा मासिक शुल्क रु २५ हजार असुल्यो। भर्ना शुल्क र विभिन्न शीर्षकमा लिएको शुल्क गरी सुरुमै करिब रु ७० हजार विद्यार्थीसँग उठाएको पाइयो। मध्यपुरथिमि–९ बोडेमा गत वर्षदेखि नगरपालिकामा दर्ता नै नगरी संस्कार गुरुकुल विद्यालय सञ्चालन गरी कक्षा ८ सम्म अध्ययन गरायो। यो विद्यालयले यो वर्ष पनि कक्षा १ मा मासिक रु १७ हजार र भर्ना र अन्य विभिन्न शीर्षकका शुल्क गरेर रु ६० हजार असुल्यो।
अभिभावक सङ्घसम्म पुगेका विद्यालयका यी नाम र शुल्क केही उदाहरण मात्रै हुन्। मध्यपुरथिमिभित्र सञ्चालित यस्ता कयौँ विद्यालयले मनोमानीरूपमा शुल्क उठाएर विद्यार्थी र अभिभावकलाई समस्यामा पारेपछि त्यस्ता विद्यालयलाई मध्यपुरथिमि नगरपालिकाले कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।