
काठमान्डौ/बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन उपराष्ट्रपति जगदीप धनखर आज बिहान बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गर्नुभएको छ । भोलि शनिबार राजा चाल्र्सको राज्याभिषेक हुँदैछ ।
दुईदिने बेलायत भ्रमणका क्रममा उहाँ राज्याभिषेक समारोहमा सहभागी हुने विश्वका विभिन्न सरकार एवम् राष्ट्र प्रमुखसँग सामूहिक भेट गर्नुहुनेछ । समारोहमा करिब दुई हजार विश्वका विशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम छ । उपराष्ट्रपतिका साथ उहाँकी धर्मपत्नी सुदेश धनखर पनि लण्डन प्रस्थान गर्नुभएको छ ।
बेलायत सरकारले भारतलगायत अन्तरराष्ट्रिय समुदायलाई राज्याभिषेक समारोहमा आमन्त्रण गरेको छ । वेस्टमिनिष्टर गिर्जाघरमा धार्मिक विधिपूर्वक राजा चाल्र्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक हुनेछ । राज्याभिषेकमा उपस्थित हुन पाउनु भारतका निम्ति सम्मानको अवसर भएको बताउँदै त्यसबाट भारत र बेलायतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने कूटनीतिक अधिकारीहरूले बताएका छन् ।
गत वर्ष महारानी एलिजावेथ द्वितीयको निधनपछि राज चाल्र्सले राजसिंहासन सम्हाल्नुभएको हो । सत्तरी वर्षअघि महारानी एलिजावेथको राज्याभिषेक भएको थियो । भोलिको राज्याभिषेकलाई बेलायतभर राष्ट्रिय उत्सवका रुपमा मनाइदैछ ।