
काठमान्डौ/जहाँनिया राणाशासन, निर्दलिय पन्चायती व्यवस्था, राजतन्त्रको अन्त्य गर्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको डेढ दशक बितिसकेको छ । आज यो देश तिनै मान्छेले नेतृत्व गरेका छन् जसले यो व्यवस्था परिवर्तनका निम्ति आफ्नो जीवन समर्पित गरेका छन् । देशलाई एउटा उचाइसम्म पुर्याउनको लागि उनीहरूको देन अत्यन्तै महत्त्वपूर्ण रहेको छ । व्यवस्था परिवर्तनका खातिर लागेको नेतृत्व तहका यी व्यक्तिहरु व्यवस्था परिवर्तन गरेपछि त्यही पुरानो संघर्षको ब्याज खाएर सत्ताको वरिपरि लिप्त भएर बसेको यथार्थ सत्य नै छ ।
समाज गतिशील छ, यसर्थ समाज र राष्ट्रको आवश्यकता सदैव एउटै हुँदैन । कुन समयमा समाज, देश, नागरिकले के खोजेको छ त्यो कुरा आत्मसाथ गर्न सकिएन भने नेतृत्वको ओरालो यात्रा तेहीबाट सुरु हुन्छ । पुरानोको स्थान नयाँले लिने प्राकृतिक नियम नै हो । गणतन्त्रको स्थापनापछि आम नागरिकमा एउटा आसाको किरण झुल्केको थियोे । तर, त्यो आशा निरासामा परिणत भयो । यसको अर्थ गणतन्त्रको स्थापना पछि केही नभएको भन्ने होइन तर, जुन गतिमा निश्चित समयवधिमा जति विकासको पथमा यो राष्ट्र अगाडि बढनु पथ्र्यो त्यो भने हुन सकेको छैन ।
दल र दलका नेतामा देखिएको व्यक्तिवाद, परिवारवाद र भ्रष्टाचारबाट जनता दिनप्रतिदिन निरास बनिरहेका छन् । त्यसको फलस्वरूप गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र भर्खरै सम्पन्न भएको उप९निर्वाचनको मत परिणामले केही नयाँ पार्टीका नयाँ अनुहारहरुलाई जन्माएको छ । नयाँ अनुहारले केही गर्छन् वा गर्दैनन् त्यो हेर्न बाँकी नै छ तर उनीहरुबाट बहुसंख्यक नागरिकले परिवर्तनको अपेक्षा भने जरुर गरेको देखिन्छ ।
उपनिर्वाचनको नतिजाबाट पुराना दल प्रति आम जनताको वितृष्णा छ भन्ने सजिलै बुझ्न सकिन्छ । परम्परागत सोचबाट बाहिर आउन नसकेको, स्थानिय स्तरमा के कस्तो स्रोत साधनको आवश्यकता छ, जनसर्थन कस्तो छ भनेर नहेर्ने प्रवृतिका कारण उनीहरु अहिले नयाँ दलको नजरमा पछाडी परेका हुन् । यस पटकको मत परिणामले मतदातामा पुराना दलहरूको कार्य शैलीप्रति जागेको वितृष्णा र आक्रोश मत परीणामले स्पष्ट देखिएको छ ।
राजनीतिमा जे पनि सम्भव हुन्छ भनेर जनभावना माथि निरन्तर प्रहार गर्दै हिँड्ने पुराना र ठुला दललाई यो मत परिणामले सचिनका लागि राम्रो सन्देस दिएको स्पस्ट नै छ । चुनावको समयमा बाँडिने पैसा र आश्वासनले मात्र चुनाव जित्न सकिँदैन । चुनाव जित्नका लागि चर्का भाषण र ठुला सपना देखाएर मात्र हुन्न । बरु आम जनताका जीवनमा प्रभाव पार्ने स साना कुराले ठुलो महत्त्व राख्छ भन्ने देखाएको छ ।
यस बाट कांग्रेस एमाले लगायतका दलले आम जनताले परिवर्तन चाहिरहेको स्पस्ट देखिएको छ । उपनिर्वाचनको नतिजाबाट पुराना दलहरु सुध्रिनुपर्ने देखिएको छ ।नेपालमा हिजोको भूगोल छ, तर, आम नेपाली नागरिकको मस्तिष्कमा हिजोको नेपाल नभएको स्पष्ट देखिन्छ । पुराना दलले अगाडी सारेका राजनितिक एजेण्डा र सिद्धान्तप्रति नै आम जनताको चासो र विस्वास नरहेको बुझ्न सकिन्छ ।
पुराना दलहरुले व्यक्तिलाई नपत्याइएको भन्दा पनि हाम्रो कार्य, प्रवृति नपत्याइएको हो भनेर बुझ्न जरुरी छ । त्यो दलले आजका मितिसम्म जनताका अगाडी सारेका एजेण्डालाई नपत्याइएको हो । राजनितिमा देखिएको व्यक्तिवाद, परिवारवाद र भ्रष्टाचारबाट जनता दिनप्रतिदिन निरास बनिरहेका छन् । यस्तो अवस्थामा भर्खरै उदाउँदै गरेका राजनितिक दलले केही नयाँ आशा जगाउन खोजिएको अवस्थामा सोहि आशाको पछि आम जनाता देखिएको छन्। यि नयाँ दलप्रति आम जनताको रुचाई कति दिर्घकालिन सम्म हुन्छ त्यो भने अनुमान गर्न कठिन छ।
पैसाको खोलो बगाएर जित्ने र सांसद, मन्त्री बन्ने देशको नेतृत्व गर्ने कुरा एउटा व्यक्तिको लागि यो ठूलै उपलब्धि होला तर यो समाज, देश, नागरिकले यसबाट के पाउने छन्, कस्तो अनुभूति गर्नेछन् त्यो महत्त्वपूर्ण कुरा हो । गणतन्त्र स्थापनापछि यो देशले धेरै वटा सरकार पायो । तर त्यसले दिने उपलब्धि भने नगण्य मात्र गरे । चुनाव कसरी जित्ने र जितेर कसरी सरकारमा पुग्ने भन्ने मनोभावना बाट अग्रसर हुने प्रवृत्ति हावी भएको देखिन्छ ।
आफनो पदलाई जिम्मेवारी र जनता प्रतिको उत्तरदायित्व भन्दापनि आफनो स्वार्थमा केन्द्रित हुने प्रचलन छ । चुनाबताका घोषणापत्र राम्रो बनाउने, सरकारका निति तथा कार्यक्रम राम्रो बनाउने तर त्यसको कार्यान्वयन नहुने त्यो खेस्रा केवल कागजी पानामा सिमित हुने गरेको छ । हाम्रो देशमा नेतृत्व तहमा पुगेका नेतृत्वहरु, पार्टीहरु एकले अर्कोलाई आरोप प्रत्यारोप गर्दै सत्ताको स्वाद चाखेर बसिरहेका छन् । मुलुकलाई विकास, समृद्धि, सुशासनको मार्गमा हिँडाउने प्रतिष्पर्धा दलहरुबीच भएको भए सायद यो मुलुक यतिबेला सम्म सम्पन्न बनिसकेको हुन्थ्यो । सरकार बनाउन भागबन्डा मिलाउन सधैं व्यस्त रहने दलहरू दलका नेताहरू समाज र देशलाई अगाडि लैजाने सवालमा बहस गरेको भए दल, राजनीति प्रतिको दृष्टिकोण यस्तो हुने थिएन जस्तो आज छ ।
देशमा रहेको विद्ममान बेरोजगारी, गरीबी, असमानताको न्यूनीकरण गर्दै यसको अन्त्यको लागि सरकारको कुनै पहल कदमी, ठोस योजना छैन । कुल जनसंख्याको ६०% प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित छ तर कृषिमा आधुनिकीकरण, व्यवसायीकरणको, औद्योगिकरणको अभावका कारण वर्षेनी कृषिजन्य सामग्री लगायत अन्य विविध वस्तुको आयातको लागि अरबौं र खरबौं बाहिरिने गरेको छ ।
व्यापार घाटा दिन प्रतिदिन बढेको छ, अध्यन पछिको रोजगारी सुनिश्चितता नभएकाले वर्षेनी लाखौं विद्यार्थी विदेशीरहेका छन । शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण मौलाउदो छ, सार्वजनिक सेवा लिनको लागि घण्टौं लाइनमा बस्नुपर्ने, धेरै दिन धाउनु पर्ने अलवा जन सरोकारका विविध विषयमा राज्य मौन छ । मुकदर्शक बनेर बसेको छ ।
भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कानुनी शासनको धज्जी उडाएर विधि, विधान र सिद्धान्तलाई तिलाञ्जली दिएको अहिलेको नेतृत्वको यो कार्यशैलीले आम मानिस वाक्क र दिक्क बनेका छन् । यो भद्रगोल अवस्था आउनुमा नेतामात्र होइन आम नागरिक पनि उत्तिकै जिम्मेवार छन् किनकि यही समाजले यही नागरिकले नेता बनाउने हो । यसर्थ एउटा सक्षम नागरिकले एउटा सक्षम जनप्रतिनिधि छनोट गर्न सकेको दिन देश प्रगतिको दिशातर्फ स्वतस् लम्किने छ ।
पछिल्लो समयमा आम नागरिकको चेतनाको स्तर जसरी बढ्दो छ त्यही अनुपातमा राजनीतिक दल र दलका नेताले सोही अनुसार दल र आफुलाई रुपान्तरण नगर्ने हो भने, जनआबश्यकता,चाहाना, भावना अनुरुप प्रस्तुत नहुने हो भने अस्तित्व संकटमा पर्ने निश्चित छ । व्यवस्था परिवर्तन गर्न अब्बल साबित भएको अहिलेको नेतृत्व पंक्तिले आफूलाई समयानुकूल परिमार्जन गर्न सक्नुपर्दछ । युग सुहाउँदो पुराना दलहरुले आफ्नो कार्यशैली परिवर्तन गर्न सकेन भने हराउने निशिचत देखिएको छ ।
जनता बाट निर्वाचित जनप्रतिनिधि जनताको माग, आबश्यकता पूर्तिको लागि तन,मन वचनले प्रतिवद्ध भएर लाग्नुको विकल्प छैन । आफू र आफनो दललाई ठिक देखाउन अर्को दल र दलका नेतालाई होच्याउने, अस्वस्थ प्रतिष्पर्धा गरेर, मिठो भाषण गरेर रजगज गर्ने यसकै सेरोफेरोमा घुम्ने हो भने अब यसको जवाफ आम नागरिकले अबश्य दिनेछन् ।
यसर्थ मुलुकको विकास, समृद्धि, सुशासनको प्रत्याभूती आम नागरिकलाई दिलाउन, लोकतन्त्रको संस्थागत गर्न, कानुनी राज्यको स्थापना गर्न नेतृत्वले आफनो मूलभूत जिम्मेवारी ठानेर अगाडि बढनु पर्दछ होइन भने सधैंभरि यसैगरी जनतालाई ढाँट्छु भन्ने मानसिकता छ भने नेतृत्वले बुझ्न जरुरी छ नेताले धेरै पटक जनतालाई ढाँटे अब असक्षम नेतालाई ढाँटने पालो आम नागरिकको हो ।
– लेखक : प्रमिला घिसिङ