
काठमान्डौ/शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (मंगलबार)तीन खेल हुँदैछ । च्यासल मैदानमा दिउँसो ३ बजे शुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पुलिस १७ खेलबाट १९ अङ्क जोडेर १३औँ स्थानमा छ भने एपीएफ समान खेलबाट २२ अङ्कसहित दशौँ स्थानमा रहेको छ । यस्तै, दिउँसो ३ बजे नै दशरथ रङ्गशालामा हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।
१७ खेल खेलेको थ्रीस्टार २५ अङ्कसहित पाँचौ स्थानमा हुँदा समान खेलबाट २४ अङ्क जोडेको आर्मी छैटौँ स्थानमा रहेको छ । यस्तै दशरथ रङ्गशालामा साँझ ६ बजे सातदोबाटो र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चर्च ब्वाइज १७ खेलबाट ३० अङ्कसहित तालिकाको दोस्रो स्थानमा र सातदोबाटो समान खेलबाट २६ अङ्कसहित चौथो स्थानमा छ ।
लिगमा १८ खेल खेलेको जावलाखेल युथ ३१ अङ्कसहित शीर्ष स्थानमा छ ।



