गण्डकी प्रदेशस्तरिय ठेलो प्रतियोगितामा पर्वतको कब्जा

Share:

काठमान्डौ/गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र तेश्रो तिनै स्थानमा कव्जा जमाएको छ । पर्वतका किरण विकले १४.०१ मिटरको दुरी ठेलो फाल्दै पहिलो स्थान प्राप्त गर्न सफल भए । उनले नगद रु २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।

 

त्यस्तै पर्वतका राजेन्द्र हमालले १३.९७ मिटरको दुरी फाल्दै दोश्रो भए भने निशान बोहराले १२.८२ मिटर ठेलो फाल्दै तेश्रो स्थानमा चित्त बुझाए । दोश्रो भएका हमालले नगद रु १५ हजार र तेश्रो भएका बोहराले नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।

प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीहरुको सहभागिता रहेको थियो । लमजुङ र कास्कीले प्रतियोगितामा सहभागिता जनाउने बताए पनि अन्तिम समयमा अनुपस्थित रहेका थिए ।प्रतियोगितामा बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषदकी सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

ठेलो प्रतियोगिता गण्डकी प्रदेशमा परम्पराको रुपमा खेलिदै आएकोमा सो को सरक्षण, प्रवर्द्धन र प्रचार प्रसारका लागि आयोजना गरिएको परिषदका सदस्य समेत रहेका शेरचनले बताए ।

 

Share: