
काठमान्डौ/सरकारले विद्युत् व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको जानकारी दिइन् ।
यस्तै सरकारले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्री शर्माले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको समेत बताइन् ।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने र माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रूखहरू हटाउन स्वीकृति दिने निर्णय भएको छ ।
बैठकले बेल्जियमको ब्रसेल्समा जेठ २९ देखि ३२ गतेसम्म आयोजना हुने महानगरपालिकाहरूको शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भ्रमण स्वीकृत गरेको छ ।



