मछिन्द्र एफसीले हिमालयन शेर्पालाई ३-१ ले पराजित गर्यो

155
0
Share:

काठमान्डौ/आफिज ओलावालेको दुई गोल मद्दतमा साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई ३-१ ले पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रका लागि ओलावालेले दुई तथा विमल घर्ती मगरले एक गोल गरे‍ । हिमालयन शेर्पाका पिस्टोने मुटम्बाले एक गोल फर्काए ।मछिन्द्रका लागि विमल घर्ती मगरले २६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा ओलवालेले दुई गोल गरे । उनले ६८औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दोब्बर पारे भने ७७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मछिन्द्रलाई ३-१ को अग्रता दिलाए ।हिमालयन शेर्पाका लागि पिस्टोने मुटम्बाले अन्तिम मिमनेटमा एक गोल फर्काए । खेलको अन्तिम दश मिनेट दुवै टोली दश खेलाडीमा समेटिएका थिए ।

 

मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले ८३औं मिनेटमा रातो कार्ड पाएका थिए । यस्तै विपक्षी खेलाडीसँग झगडा गरेका हिमालयन शेर्पाका निशान लिम्बुले ८५औं मिनेटमा रातो कार्ड पाएका थिए ।यो जितपछि मछिन्द्रले यस सिजन दोस्रो स्थानमा रहेर लिग सकाउने पक्का भएको छ । २५ खेलबाट मछिन्द्रको ४२ अंक छ ।मछिन्द्रभन्दा पछि रहेका नेपाल पुलिसको ३८ र जावालखेल युथ क्लबको ३७ अंक छ ।अब लिगमा एक खेल मात्र बाँकी रहेकोले दुवैले टोलीले मछिन्द्रलाई भेटाउने छैनन् ।

 

 

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेडले पछिल्लो दुई संस्करणको च्याम्पियन मछिन्द्रलाई पछि पार्दै पहिलो सिजनमै लिग उपाधि जितिसकेको छ ।चर्च ब्वाइजले डेब्यु सिजनमै लिग जित्दा मछिन्द्रको लगातार तीन पटक लिग जितेर उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य अधुरै रह्यो ।यो हारपछि हिमालयन शेर्पाको २५ खेलबाट ३१ अंक छ ।

 

Share: