
काठमान्डौ/सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ ।शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो ।
शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले सरकारको प्रतिवद्धता आइसकेकाले छलफल अघि बढाउने बताए ।तर एमाले सांसद छविलाल विश्वकर्माले प्रदेशसभाले राखिसकेको नाम बजेट पुस्तिकामा नराख्नु संविधान विपरीत हुने बताए ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रदेशको नाम छुटाउनु सरकारको गल्ती भएको बताए । तर सभामुखले रुलिङ गरिसकेपछि पनि आफूले भनेअनुसार नै रुलिङ हुनुपर्छ भनिरहने हो भने अर्कै ठाउँमा पुग्ने बताएपछि सभामुखले प्रतिनिधिसभा बैठक रोकेर दलका प्रतिनिधिको छुट्टै छलफल राखे ।दलका प्रतिनिधिहरुसँग छलफल गरेपछि पुनः सुरु भएको संसद बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेश सभाबाट पारित प्रदेशको नाम छुटेको भए तत्काल सच्याउन निर्देशन दिए ।