अवैध लागूऔषध १० हजार १३० पिस एलएसडीसहित १२ जना पक्राउ

Share:

काठमान्डौ/नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित १२ जनालाई पक्राउ गरेको छ ।ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो । उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।

 

सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको जोशीले बताए । सन् १९६०/७० को दशकमा हिप्पीहरुले नेपालमा लागूऔषध एलएसडी भित्र्याएको मानिन्छ । तर, पछिल्ला वर्षहरुमा नेपालमा एलएसडीको प्रयोग भएको देखिएको थिएन । निकै महँगो पर्ने र स्टिकरका रुपमा विक्री वितरण गरिने यो लागूऔषध नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको आशंका गरिएको जोशी बताउँछन् ।

 

ब्यूरोका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरीका अनुसार ब्यूरोले समातेको एलएसडीको यो परिमाण हालसम्मकै सबैभन्दा ठूलो हो । ‘यत्रो परिमाणमा एलएसडी नेपालमा देखिएको थिएन, यसको प्रयोगकर्ता पनि नेपाली नै हुन् भने यो झनै गम्भीर विषय हो। ब्यूरोका अधिकृतहरुका अनुसार बरामद एलएसडी स्थलमार्गमार्फत भारतबाट नेपाल ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ । ‘यसको मुख्य व्यक्ति इटालियन नागरिक डेबिड नै हुन्’, जोशी थप्छन्, ‘थप नेक्ससबारे खोजी गरिरहेका छौं ।’

 

Share: