Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परेन पानी सुरु भएन रोपाइँ – Lekhanpeeth

परेन पानी सुरु भएन रोपाइँ

Share:

काठमान्डौ/बाँकेमा पर्याप्त वर्षाद् नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी नपरेका कारण धान रोपाइँ सुरु नभएको जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकोले धान रोपाइँ गर्न नसकिएको उनको भनाइ छ ।

 

जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको जानकी गाउँपालिका–१ का अध्यक्ष मोहम्मद रजा राईले बताए । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नेदेखि रापाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले जानकारी दिए। सिँचाइको व्यवस्था नभएकोले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘प्रकृतिले पनि ठगिरहेको छ, धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ ।’,उनले भने ।

 

बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा २५ प्रतिशत मात्रै रोपाईँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिए ।

 

उनका अनुसार, यसपटक हालसम्म पनि आवश्यकपर्ने वर्षा नभएकोले सबैतिर रोपाइँ हुनसकेको छैन । हालसम्म भएको २५ प्रतिशत रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरी र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ ।

 

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी बिशाल यादवले जानकारी दिए ।

 

बाँकेका आठ स्थानीय तहमध्ये अहिलेसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख अहमदको भनाई छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको छ । यो वर्ष वर्षा नभएका कारण बाँके जिल्लामा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ ।

Share: