
काठमान्डौ/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गरेका छन् ।
राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा भएको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष तिमिल्सिनाले ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे ।
उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भने ।
अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रमबजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिक पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताए ।