गण्डकीको बजेट बहुमतले पारित

Share:

काठमान्डौ/गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ। २२ दिनको छलफलपछि शुक्रबार प्रदेश सभामा बहुमतले बजेट पारित भएको हो ।

 

असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ४८ करोड कमको बजेट ल्याइएको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट गण्डकीले ल्याएका थियो ।

 

आगामी वर्षको कुल बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ। १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन भएको हो । यस्तै पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन भएको छ । यो कुल बजेटको ६०.५ प्रतिशत हो ।

 

गण्डकी प्रदेश सरकारले पहिलो पटक आन्तरिक ऋण उठाउने तयारी गरेको छ । १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने बजेट प्रस्तुत गर्दै अर्थमन्त्री आलेले जानकारी गराएका छन् ।

 

बजेटको छलफलको क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३ पटकसम्म संसद अवरोध गरेको थियो। बजेटमा सत्तापक्षकै सांसदले असन्तुष्टि प्रकट गरे। मन्त्रीले आफ्ना योजनामा मात्रै बजेट हालेको भन्दै सत्तापक्षका सांसदले असन्तृष्टि जनाएका हुन् ।

 

नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको उनीहरूको आरोप थियो। एमालेले बजेटमा निलोकोट हाबी भएको भन्दै विरोध जनाएको छ ।

Share: