
काठमान्डौ/म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिए । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उनीले बताए ।
‘घरायसी प्रयोजनका लागि आधुनिक मिलमा नै कुटानीपिसानी गर्ने प्रचलन छ, पूजाआजा हुँदा भने सामुदायिक भवनकै ढिकी र जाँतोमा कुटानीपिसानी गर्छौं, परम्परागत जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि यसलाई संरक्षण गरेका हौँ’, उनीले भनिन् । आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा भवनसँगै खेल मैदानसमेत निर्माण गरेका छन् । खेल मैदान निर्माण भएपछि महतारे, कोसेपानीलगायतका बस्तीका बालबालिकालाई खेल खेल्नका लागि सहज भएको छ ।
गण्डकी प्रदेश सरकारमार्फत भौतिक पूर्वाधार विकास कार्यालयमार्फत रु चार लाख ५० हजार र गाउँपालिकामार्फत रु पाँच लाख ३४ हजार बजेटबाट आमा समूहको भवन र खेलमैदान निर्माणसँगै घेराबारसमेत निर्माण गरेका छन् । नवनिर्मित भवनको एउटा कोठामा ढिकी र जाँतोलाई राखिएको छ भने अर्को कोठालाई समूहको बैठक कक्ष बनाइएको छ ।