कोशी सरकारविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

144
0
Share:

काठमान्डौ/कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत दर्ता गराएका रिट आज न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ ।

 

उक्त रिटमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् ।

 

संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत समावेश गर्नु संविधान विपरीतको कार्य भएको भन्दै रिट दर्ता गराएका हुन् । नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका थापा चार दलको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष बहुमत पुगेको दाबी पेस गरेका थिए ।

 

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशसमेत माग गरेका छन् ।

Share: