
काठमान्डौ/भारत ‘ए’ विरुद्ध नौ विकेटको लज्जास्पद हार बेहोरेसँगै नेपाल एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । नेपालविरुद्धको जितसँगै भारतले भने प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
सोमबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १६८ रनको सामान्य लक्ष्य भारत ‘ए’ ले २२।१ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ओपनर अभिषेक शर्माले ८७ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ६९ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । अभिषेकले पहिलो विकेटका लागि अर्का ओनपर साई सुदर्शनसँग १३९ रनको साझेदारी गर्दै भारतलाई सहज जिततर्फ डोहोर्याएका थिए । सुदर्शन ५८ र ध्रुव जुरेल २१ रनमा अविजित रहे ।
नेपालका लागि एकमात्र विकेट कप्तान रोहितकुमार पौडेलले लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपाली टिम भारतीय बलरसामु खुलेर खेल्न नसक्दा १६७ रनमै समेटिएको थियो ।
भारत ‘ए’ विरुद्ध पनि खराब ब्याटिङले निरन्तरता पाउँदा नेपाली टिमका कप्तान रोहितले भने ६५ रनको कप्तानी इनिङ खेले । उनले ८५ बलमा सात चौका प्रहार गरे । ३७–५ को कठिन अवस्थामा रहँदा रोहितले छैटौँ विकेटका लागि सोमपाल कामीसँग ५३ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । सोमपालले १४ रन बनाए ।
यस्तै, ९०–६ को अवस्थाबाट पनि रोहितले सातौँ विकेटका लागि गुल्सन झासँग ५४ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए ।गुल्सन झाले टिमको खातामा ३८ रन थपे । आसिफ शेखले १५ र सोमपाल कामीले १४ रन बनाए । यसबाहेक नेपाली टिमका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका कुशल भुर्तेल र कुशल मल्ल डक भएका थिए । देव खनालले सात, पवन सर्राफले ६, भीम सार्कीले चार र ललितनारायण राजवंशी तीन रनमा आउट भए । किशोर महतो दुई रनमा अविजित रहे ।
नेपाललाई सस्तैमा समेट्न निशान्त सिन्दुले चार विकेट लिए । राजवर्धन हंगारगेकरले तीन विकेट लिँदा हर्षित रानाले दुई र मानव सुथारले एक विकेट लिए ।समूह ‘बी’मा रहेको नेपाल यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । पहिलो खेलमा पनि खराब ब्याटिङ गरेको नेपाल १७९ रनमै समेटिएको थियो ।
नेपालले अब अन्तिम खेलमा साउन ३ गते युनाइटेड अरब इमिरेट्स ९यूएई० विरुद्ध प्रतिष्ठाका लागि खेल्ने छ । प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् । समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुने छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।