कोशीका सभामुख गौतमले राजीनामा दिने

Share:

काठमान्डौ/कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् । सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभामुख गौतमले राजीनामा दिने भएका हुन् ।

 

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले राजीनामा दिने बताए । उनले आफूहरु अहिले सभामुखसँग छलफलमा रहेको बताए । यस्तै नेपाली कांग्रेसका सचेतक भूपेन्द्र राईले पनि सभामुखले राजीनामा दिने जानकारी आएको बताए ।

 

यस विषयमा सभामुख गौतमसँग सम्पर्क गर्न खोज्दा फोन अफ छ। उनले आफूले सरकार गठनका लागि राजीनामा नदिने बताउँदै आइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरूबीच सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने सहमति भएको बताए ।

 

कोशीमा नयाँ सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर, गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

Share: