मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

Share:

काठमान्डौ/कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

 

विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ ।

 

साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी ९जसपा०का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोसी प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् ।

 

सभाध्यक्षमण्डलमा एमालेकी मालती लिम्बू, राप्रपाका अमरबहादुर विष्ट, माओवादीकी गीता तिम्सिना र कांग्रेसका इसराइल मन्सुरी छन् । यसैबीच, आजको बैठकमा नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेश सभाका ज्येष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् ।

 

उनीहरूले ‘घरायसी’ कारण देखाएर आफूहरू आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन् । सभामुख र उपसभामुख अनुपस्थित भए सभा सञ्चालन गर्न सक्ने गरी गठन भएको सभाध्यक्ष मण्डलका सदस्यमध्ये एमालेकी मालती सुब्बासहित आठजनाले अनुपस्थित हुने जानकारी दिइसकेका छन् ।

 

सभाध्यक्ष मण्डलकै अर्का सदस्य राप्रपाका अमरबहादुर विष्टले पनि आफूलाई ‘केहीअघि डेंगी लागेको र अहिले घरमै आराम गरिरहेको’ भन्दै सोमबारको बैठकमा अनुपस्थित रहने बताएका छन् ।उपसभामुख अनुपस्थित भए सभाध्यक्षमण्डलले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ ।

Share: