अवरुद्ध ताप्लेजुङ –काठमान्डौ उडान सुचारु

Share:

काठमान्डौ/नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमान्डौ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमान्डौ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

 

लामो समयपछि भएको उडानमार्फत काठमान्डौबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमान्डौ गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

 

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमान्डौ ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर रु आठ हजार छ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमान्डौको भाडा यसअघि रु नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु आठ हजार चार सयमा झारिएको छ ।

 

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।

Share: