गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

Share:

काठमान्डौ/अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन । कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदाहुँदै पनि दाहसंस्कार गरी हाल्नुपर्थ्यो ।

 

दुईरतीन दिनसम्म राख्नु परे जिल्ला सदरमुकामस्थित धौलागिरि अस्पतालमा ल्याएर राख्नुपर्ने बाध्यता थियो । पश्चिमबाट धौलागिरि अस्पतालमा ल्याएर राख्दा हजारौँ रुपैयाँ खर्च हुन्थ्यो । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र गलकोटको हरिचौरमा प्राथमिक स्वास्थ्य केन्द्र भए पनि यहाँ शवगृह थिएन । हालै गलकोट नगर अस्पतालमा विद्युतीय शवगृह प्राप्त भएको छ ।

 

गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतको परिवारले उनका स्व बुबा वीरबहादुर बस्नेत र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका हुन् । बस्नेत परिवारले रु आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको गलकोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले बताए । शवगृह नहुँदा धेरै नागरिकले दुःख पाउनुपरेको डा पौडेलको भनाइ छ । अस्पतालमा अहिलेसम्म शवगृह नहुँदा धेरै दिनदेखि सडेको शवको परीक्षण गर्नुपरेको उनले सुनाए ।

 

‘पश्चिम बागलुङमै शवबहान थिएन, विभिन्न घटनामा मृत्यु भएका मानिसको शव तीनरचार दिनपछि अस्पतालमा परीक्षण गर्न आउने गर्थे, त्यस बेला समस्या हुन्थ्यो, अब सहज हुनेछ’, डाक्टर पौडेलले भने, ‘अहिले सहयोगप्राप्त भएको विद्युतीय शवबहान हो, यो शवबहानमा दुई वटा शव अटाउँछन्, अब निसीखोला, तमानखोला, बडिगाड, ढोरपाटन र गलकोट क्षेत्रका नागरिकका लागि सहज हुनेछ, अब शवलाई राख्नका लागि बाग्नु पुर्‍याउनुपर्ने छैन ।’

 

शवगृह सहयोगकर्ता बस्नेतले गलकोट क्षेत्रका धेरै नागरिक विदेशमा रहेको र घरमा परिवारका सदस्यको मृत्यु भएपछि तत्काल फर्किएर आउँदा पनि मुख हेर्न नपाउने स्थिति रहेको हुँदा आफ्नो परिवारले सहयोग गरेको बताए । तीन दशक अगाडि आफ्नो आमा बित्दा सुविधा सम्पन्न अस्पतालमा शव राखेर केही दिन ढिला आएर मुख हेरेको तर बाबाको गाउँमा मृत्यु हुँदा त्यो सम्भावना नभएको बस्नेत बताउछन् । अब चाररपाँच दिनसम्म पनि शवलाई सुरक्षित राख्न सकिने र विदेशबाट आएर पनि भेट्न सकिने उनको भनाइ छ ।

 

बस्नेतले भने, ‘हाम्रो क्षेत्रका धेरै दाजुभाइ दिदीबहिनी जापान, कोरिया, अष्ट्रेलियालगायतका देशमा जानुभएको छ, घरमा कोही परिवारका सदस्यको मृत्यु भयो भने केही दिनमा आएर भेट्ने अवस्था थिएन, कसैले भेट्ने चाहना राख्यो भने हजारौँ रुपैयाँ खर्च गरेर बागलुङ अस्पतालमा लैजानुपर्ने अवस्था थियो, यो समस्याको समाधानका लागि हामीहरूले अस्पताललाई शवगृह सहयोग गरेका गरेका हौँ, अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने छौँ ।’

Share: