हत्या गरी फरार व्यक्ति छ वर्षपछि पक्राउ

154
0
Share:

काठमान्डौ/काठमान्डौको बल्खुस्थित बोक्सीदह डाँडामा २०७४ सालमा एक महिलाको हत्या गरी फरार दुई जनालाई नेपाल प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको काठमान्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले २०७४ पुस ३० गते बल्खुस्थित बोक्सीदह डाँडामा नारायणी तिमल्सिनाको हत्या गरी फरार दुईजनालाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

 

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सीतगङ्गा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४६ वर्षीय शिवराम अधिकारी रहेका छन् । पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत सुरक्षा केसीले हत्या गरेपछि विदेश फरार रहेका विश्वकर्मालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिए ।

 

अधिकारी भने चोरी मुद्दामा विसं २०७९ कात्तिक २९ गते पक्राउ परी तीन वर्ष कैद सजाय पाएर हाल केन्द्रीय कारागार सुन्धारामा रहेको प्रहरीले जनाएको छ । ‘अधिकारीले मृतक तिमल्सिनालाई भूपु आर्मीसँग विवाह गराइदिने प्रलोभन देखाएर रू १५/२० हजारसहित गरगहना लगाई आउनु भन्दै फोन गरी बोलाएको र बल्खु खोलामा लगेर हत्या गरेको खुल्न आएको छ’, केसीले भने । विश्वकर्मासँग अधिकारीको मृतक तिमल्सिनाको हत्या गर्ने दिन मात्रै चिनजान भएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

Share: