प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने

Share:

काठमान्डौ/नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताए ।

 

गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।

 

“पछिल्लो समय बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा बढेका छन् । गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ”, महानिरीक्षक कुँवरले भने , “आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ सिङ्गै राष्ट्रको अर्थतन्त्रलाई गम्भीर असर पु¥याउने भएकाले यस्ता घटनाको नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ ।” उहाँले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुव्र्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे ।

 

लागुऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको महानिरीक्षक कुँवरले बताउनुभयो । “प्रहरीकै अगुवाइ र व्यवस्थापनमा सुधार केन्द्र स्थापनाका लागि पहल भइरहेको छ । यसमा तीनै तहका सरकारको सहयोग रहनेमा हामी विश्वस्त छौँ”, उहाँले भने ।

 

उहाँले वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको धारणा राख्नुभयो । महानिरीक्षक कुँवरले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पोखरामा पर्यटनमैत्री सेवालाई थप विस्तार गरिने जानकारी दिए ।

 

नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका प्रहरी प्रमुखलगायत प्रहरी अधिकृतको सहभागिता थियो ।

Share: