Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड – Lekhanpeeth

गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

Share:

काठमान्डौ/एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो । टाढाटाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै भएका छन् ।

 

स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । बागलुङको ढोरपाटनका स्थानीयले अहिले पनि खच्चडको प्रयोग गर्दै आएका छन् । भौगोलिक कठिनाइका कारण ढोरपाटन क्षेत्रको धेरै गाउँमा सडक पुग्न सकेको छैन । सडक नपुगेका ठाउँमा घोडा खच्चडबाटै समान ढुवानी गरिन्छ । सडक पुगेका ठाउँका स्थानीय मल र घाँस खच्चडमा ओसारपसार गर्छन् ।

 

ढोरपाटनसहित बोबाङ, निसेलढोरमा पनि खच्चडमा घाँस र मल बोकाउने प्रचलन बढेको छ । ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको स्थानीय वीरबहादुर सुनारले बताए । आफ्नो घर सडकभन्दा धेरैमाथि हुँदा घोडामै यात्रा गर्ने उहाँको भनाइ छ । सबैभन्दा बढी जङ्गलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पुर्याउन खच्चड प्रयोग हुने गरेको सुनारले बताए । गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक रु ४० हजार बढी कमाउने गरेको उहाँले सुनाए ।

 

“हाम्रोपालामा मोटर गाडी चल्दैनथे, बाटो पनि गतिलो थिएन, अहिले जहाँ पनि गाडी चल्छन्, त्यहीँ भएर बजारतिर जानै छाडियो, भएका घोडा बेच्न खोजे पनि कसैले किन्दैनन्, त्यही भएर केही काम त लगाउनुपर्यो भनेर मल र घाँस बोकाउने गरेको छु”, उहाँले भने, “गाउँमा मेरोमात्रै होइन अरु धेरैका घोडा खच्चड छन्, पहिले त घोडा खच्चड हुने मान्छे धनीमानी मानिन्थे, अहिले केही महत्व छैन ।”

 

गाउँका टोलटोलमै सडक पुगेपछि घोडा, खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताए । अहिले पाँच घोडा पाल्दै आएको विकले बाउबाजेको पालादेखि नै घरमा घोडा खच्चड पाल्दै आएको हुँदा आफूले पनि त्यसलाई निरन्तरता दिएको जनाउँदै अहिले घाँस र दाना पुर्याउनै गाह्रो पर्ने बताए । पहिले सामान ढुवानी गर्ने काम पाउँदा दाना किनेर खुवाउने गरे पनि अहिले घाँससमेत खुवाउन नसक्ने स्थिति आएको विक बताए ।

 

उहाँले भने, “घाँस खुवाएर पाल्नै गाह्रो छ, उत्पादन केही छैन, त्यही भएर भारी बोक्ने काममा खच्चड लगाउने गरेको छु, टाढा जानुपर्यो भने एउटा घोडा पनि छ, त्यहीमा चढेर जान्छु, हाम्रो बाउबाजेले घोडा पालेर परिवार चलाउथे, अहिले हामीहरुलाई घोडा पाल्न गाह्रो छ ।”

Share: