
काठमाडौँ/ मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो ।
मगर समुदायको मौलिक कला संस्कृति नै लोप हुनेगरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै सङ्ग्रहालय निर्माण गरिएको मगर सङ्ग्रहालयका अध्यक्ष भुवनसिं आलेले बताए । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति, रहनसहन र भेषभूषालाई संरक्षण गरिने अध्यक्ष मगरले बताए । मगर समुदायका पुराना कला, संस्कृति, भेषभूषाका विषयमा नयाँ पुस्ताले जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यसमेत रहेको उनले बताए ।
‘मगर समुदायका विविध परम्परागत संस्कृति, भेषभूषा, रहनसहन छन्, यो हराउँदै जानेको हो कि भन्ने चिन्ताले संरक्षणमा सहयोग पुर्याउन सङ्ग्रहालय निर्माण गरेका हौँ’, सङ्ग्रहालयका अध्यक्ष मगरले भने , ‘नयाँ पुस्तालाई संस्कृति, रहनसहन, भेषभूषा हस्तान्तरणमा समेत सहयोग पुग्ने विश्वास छ ।’
मगर समुदायले प्रयोग गर्ने भाँडा, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री सङ्ग्रहालयमा राखिएका छन् । मगर सङ्ग्रहालयमा राखिएका सामग्री आम सर्वसाधारणले समेत अवलोकन गर्न सक्नेछन् । देवचुली नगरपालिका, वडा र स्थानीयको सहयोगमा सङ्ग्रहालय बनाइएको हो । मगर सङ्ग्रहालय निर्माणका लागि करिब रु २२ लाखको लागतमा घुमाउने घर निर्माण गरिएको छ । सङ्ग्रहालयको फागुन १५ गते उद्घाटन गर्ने तयारी गरिएको सङ्ग्रहालयका सचिव गनबहादुर रानाले बताए ।
पर्यटन प्रवर्द्धनका लागि समेत मगर सङ्ग्रहालय सहयोगी हुने देवचुली नगरपालिका–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरको विश्वास छ । मगर समुदायका संस्कृति, भेषभूषा अवलोकनका लागि पर्यटक आउने हुँदा पर्यटकीय केन्द्र साथै मगर समुदायको संस्कृति, रहनसहन अध्ययनका लागि केन्द्रका रूपमा समेत सङ्ग्रहालयलाई विकास गर्न सकिने उनले बताए ।
‘हिजोआज विभिन्न समुदायका संस्कृति, रहनसहन, भेषभूषासमेत पर्यटकको आकर्षण बन्ने गरेको छ, सङ्ग्रहालयलाई सोहीअनुसार पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ, पर्यटन प्रवर्द्धनमा यसले सहयोग पुग्ने विश्वास छ’, अध्यक्ष मगरले भने । हिजोआज पुराना घुमाउने घरसमेत लोप हुँदै जान थालेकामा यहाँ निर्माण गरिएको घुमाउने घरसमेत आकर्षणको केन्द्र बन्ने उनले बताए ।