वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

90
0
Share:

काठमान्डौ/ अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् ।

 

यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिनुभयो । कुनै समय अवसर खोज्दै विदेश पुग्नुभयो । विसं २०६७ मा रोजगारीका लाग मलेसिया पुग्नुभएका उनले त्यहाँ करिब तीन वर्ष पसिना बगाउछन् । उनलाई लाग्यो, त्यहाँ बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिन्छ । यही सोचले स्वदेश फर्कनुभएका उनि यतिबेला गाउँमै माछापालनमा रमाउनुभएको छ ।

 

‘जागिरको खोजीमा म विदेश जाँदिन । एकपटक अञ्जानमा विदेश गइयो । विदेश के रहेछ र त्यहाँको दुःख के हो भन्ने बुझ्नै मौका पनि मिल्यो’, उनले भने , ‘अहिले स्वदेशमै पुग्दो छ ।’ उनि माछापालनबाट मासिक सबै खर्च कटाएर रू एक लाख ५० हजार बचत भइरहेको बताए । ‘दैनिक औसतमा रू १५ हजारको कारोबार हुन्छ । त्यसबाट रु पाँच हजार जति बचत हुन्छ’, उनले भने ।

 

सोलुदुधकुण्ड नगरपालिका-४ रोक्दिङमा करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा ‘ट्राउट’ माछापालन गर्दै आउनुभएका उहाँसँग अहिले ४० हजारभन्दा बढी माछाका भुराहरु छन् । उनले माछापालनका लागि दश वटा पोखरी निर्माण गरेका छन् ।

 

‘विदेशबाट फर्किपछि अन्य काम गरिरहेको थिए । कमाइ पनि ठिकै थियो । कोरोना महामारीका कारण बन्दाबन्दी लागू भएपछि भने आम्दानी ठप्प भयो”, उनले भने , ‘सबै काम ठप्प भएपछि माछापालनको योजना बनाएको हुँ ।’ सुरुमा माछापालनको योजना सुनाउँदा धेरैले हुँदैन भन्ने गरे पनि अहिले माछापालनबाट आम्दानी हुन थालेपछि भने प्रसंशा गर्ने गरेको उनले सुनाए । ‘सोलु जस्तै चिसो ठाउँमा माछापालन हुन्न भन्ने धेरै थिए’, उनले भने ।

 

राजभण्डारी अहिले दैनिक १८ घण्टासम्म माछापालनमै रमाउनुहुन्छ । विस २०७७ सालबाट सुरु गरेको माछापालनमा हालसम्म रु एक करोड लगानी भइसकेको छ । उनले माछापालनसँगै रोक्दिङमा होटल पनि सञ्चालन गरिरहनुभएको छ । माछा खरिद गरी लैजाने भन्दा पनि माछाका परिकार खान आउनेहरु धेरै रहेको उनको भनाइ छ । सदरमुकाम सल्लेरीबाट ट्राउट माछा खान आउनेहरु धेरै रहेको उनले भने ।

 

फाल्लुका दिनेश राई खोलामा माछा पातलिँदै गएपछि मानिसहरु माछाको स्वाद दिन यहाँसम्म आउने गरेको बताउछन् । ‘माछा खान रुचाउने मानिसहरुको सङ्ख्या बढ्दो छ । तर खोलामा माछा हराउँदै गएका छन् । अब पालेको माछा खालुको विकल्प छैन’, उनले भने ।

 

जिल्लामा ट्राउट माछा प्रतिकिलो रु एक हजार छ सयमा बिक्री भइरहेको छ । यहाँ उत्पादन हुने माछा लुक्ला, नाम्चेलगायतका क्षेत्रमा बढी खपत हुने गरेको उनले भनाइ छ । चिसो ठाउँमा हुर्किएको माछा उपभोक्ताले बढी रुचाउने गरेको राजभण्डारीको अनुभव छ । हाल जिल्लाको अन्य चार स्थानमा पनि व्यावसायिक माछापालन भइरहेको छ । तामाखानी, बेनी, साल्मे, सल्लेरीमा ट्राउट माछापालन भइरहेको हो ।

 

बजारको चिन्ता छैन

 

यहाँ उत्पादन हुने माछा जिल्लामै खपत हुने गरेको छ । राजभण्डारी माग नै धान्न नसकिने अवस्था रहेको बताउछन् । यहाँ उत्पादन भएका माछाले माग धान्न नसकेर कतिपय होटलहरुमा बाहिरबाट समेत माछा ल्याउने गरिएको उनले बताए ।

 

माछापालनमा एउटा समस्या भने छ । माछालाई रातको समयमा वन्यजन्तुहरुले आत्रमण गर्ने गरेको साल्मेका व्यवसायी भानुभक्त श्रेष्ठले सुनाउनुभयो । फार्ममा राति आउने सालकले एकैपटकमा धेरै माछाहरु मार्ने गरेको भाइकाजी राजभण्डरीको भनाइ छ ।

 

‘केही हप्ता अघि मात्रै मेरो फार्ममा एकै पटक एक सयभन्दा बढी माछाहरु टाउको नभएको अवस्थामा भेटिए । हामी अचम्ममा पर्‍यौँ’, उनले भने , ‘पछि सिसी क्यामरा राखेपछि पोखरीको माछा सालकले खाने गरेको भेटियो ।’ रातको समयमा खोलाबाट आउने सालकले पोखरीमा प्रवेश गरी माछाको टाउको खाने गरेको पाइएको उनले बताए ।

 

सालकले माछाको टाउको मात्रै खाने गरेको व्यवसायी कमल मगर बताउछन् । राजभण्डारीले सिसि क्यामेरामा साइरन जडान गरेको र केही वस्तु पोखरीमा छिर्ने वित्तिकै साइरन बज्ने गरेको सुनाए । माछापालनमा वर्षातको समयमा आउने भलले पनि समस्या हुने गरेको छ ।

 

जिल्लामा ट्राउटका लागि आवश्यक दाना ढुवानी चुनौतीपूर्ण छ । जिल्लामा दाना उत्पादन नहुने र दानाका लागि काठमाडौँबाट ल्याउनुपर्ने हुँदा महंगो पर्ने गरेको छ । काठमाडौँबाट दाना आयात गर्दा प्रतिकिलो रू दुई सय ६६ पर्ने गरेको छ ।

Share: