Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ललितपुरका एक लाख ५६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप – Lekhanpeeth

ललितपुरका एक लाख ५६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप

264
0
Share:

काठमान्डौ/आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिनुभएको जानकारी अनुसार ललितपुरका छ स्थानीय तहका छ सय २२ खोप केन्द्रबाट एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाउने गरी तयारी भएको छ ।’यही फागुन १३ गतेदेखि २३ गतेसम्म जिल्लाभर खोप अभियान जारी रहन्छ । कोन्ज्योसोम र महाकाल गाउँपालिकामा १५ गतेदेखि मात्र सुरु हुन्छ । यो अभियानका लागि एक सय ५९ जना स्वास्थ्यकर्मी र आठ सय २२ स्वयंसेवक खटिएका छन्’, अधिकृत न्यौपानेले भने ।

 

महानगरमा मात्रै ९२ हजार तीन सय बालबालिका

 

दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुर महानगरमा मात्रै खोप लगाउने बालबालिकाको सङ्ख्या ९२ हजार तीन सय रहेका छन् । यो सङ्ख्या जिल्लाका सबै खोप लगाउने बालबालिकाको सङ्ख्याको आधारमा ५८ दशमलव ८८ प्रतिशत हो ।

 

खोप अभियानअन्तर्गत महानगरभित्रका दुई सय १२ खोप केन्द्रबाट नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाउने तयारी भएको महानगरका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी गराए । यही फागुन १३ देखि २३ गतेसम्म विद्यालयमा खोप केन्द्र राखिएको उनले बताए ।’फागुन २३ गतेसम्म महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौँ । फागुन १३ गतेदेखि महानगरका वडा नं २५, २६, २७, २८ र २९ का विद्यालयमा खोप दिइएको छ’, महर्जनले भने ।

 

फागुन १४ गते वडा नंं २२, २३, २४ का विद्यालयमा, फागुन १५ गते वडा नं १८, १९ र २० र २१ का विद्यालयमा, फागुन १६ गते वडा नं १४, १६ र १७ वडाका विद्यालयमा दादुरा-रुबेलाविरुद्धको खोप दिने तयारी भएको छ । फागुन १७ गते वडा नं १५ का, फागुन १८ गते वडा नं ८, ९, १०, ११, १२, १३ का र फागुन २० गते वडा नं ५, ६ र ७ मा रहेका विद्यालयबाट खोप दिइने जनस्वास्थ्य शाखा प्रमुख महर्जनले जानकारी दिए । उनका अनुसार फागुन २१ गते वडा नं ४, फागुन २२ गते वडा नंं १, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ । फागुन २३ गते वडा नंं १ देखि २९ सम्मका छुटेका बालबालिकालाई वडाका स्वास्थ्य संस्थामा खोप दिइनेछ ।

 

सरकारले सन् २०२३ सम्म दादुरा-रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत न्यौपानेले बताउनुभयो ।अभियानबाटै पूर्ण खोप सुनिश्चितता, बाल मृत्युदरमा उल्लेख्य कमी, खोप ऐन र नियमावली जारी, रुबेला तथा सीआरएस नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण, नियमति खोपमा रोटा भाइरस तथा सरसफाइ प्रवर्द्धन तथा नियमित खोपमा टाइफाइडको सुरुवात भएको अधिकृत न्यौपानेले जानकारी दिए ।

Share: