
काठमान्डौ/मंगलबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि पुस १२ गते १ लाख २२ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज उक्त रेकर्ड तोडेको हो । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
विश्व राजनितिको उतावचढावले अन्तराष्ट्रिय बजारमा प्रभाव पारेकोले नेपालमा सुनको भाउ वृद्धि भइरहेको हो । अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमो नेपालमा मूल्य निर्धारण गर्ने भएकोले विश्व राजनितीको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य बताउँछन् ।
यस्तै, अमेरिकी कमर्श डिपाटमेण्टले सार्वजनिक गरेको मुल्य बृद्धि दर सम्वन्धी प्रतिवेदनका कारण सुनको मूल्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए । हाल फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५।२५ देखि अधिकतम ५।५० सम्मको सीमा तोकेकोले पनि सुनमा असर परेको उनको भनाइ छ ।
महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ११५ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ ।