गृहसचिव अर्यालले भने – बाँसबारी जुत्ता कारखानाको अतिक्रमित जग्गा सरकारको नाममा आइसक्यो

110
0
Share:

काठमान्डौ/गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन् ।

 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सचिव अर्यालले बाँसबारी छाला जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा आइसकेको जानकारी दिएका हुन् । उनले देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाको लगत संकलन गर्न सम्बन्धित निकायसँग समन्वय गरी त्यस्ता जग्गा साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिएको पनि बताए ।

 

सचिव अर्यालले यससम्बन्धी सूचना दिएर सहयोग गर्न सबै नागरिकहरूलाई अपिल गरिएको पनि स्पष्ट पारे । उनले मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेको बताए । गृहसचिव अर्यालले सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताए ।

 

बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको चरणमा रहेको उल्लेख गर्दै उनले अध्ययनपश्चात कार्यान्वयनमा लगिने बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नवीकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिसँग गैरकानुनी रूपमा राखिएका हतियार नियन्त्रण गरी शून्यमा झार्ने नीति अवलम्बन गरेको पनि बताए ।

 

सचिव अर्यालले अहिले अपराधको विश्लेषण गर्दा आत्महत्या, बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, सार्वजनिक शान्तिविरुद्धको कसुर, लागुऔषध दुर्व्यसनन, चोरी, जबर्जस्ती करणी, बहुविवाह र ठगीजस्ता अपराधको हिस्सा ठूलो देखिएको बताए ।

 

Share: