
काठमान्डौ/सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकअघि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
बजेट अधिवेशन सुरु हुनुअघि नै सहमतिको प्रयासका लागि सभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन् ।
सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्न रहेको भन्दै कांग्रेसले छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ । सभामुख घिमिरेले सदनको अवरोध खुलाउन अघिल्लो अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।
तर, सहमतिको प्रयास भने हुन सकेको थिएन । संघीय संसदका दुवै सदनको बैठक २८ वैशाखदेखि सुरु हुँदै छ ।