Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’ – Lekhanpeeth

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’

Share:

काठमान्डौ/स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पुर्‍याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ ।

 

मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उनले बताइन् । ‘मौसम अनुसार उत्पादन हुने तरकारी दुई/चार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ’, उनले भनिन्, ‘ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।’

 

आफूले उत्पादन गरेका तरकारी घरदैलोमै पुगेर बिक्री गर्ने गरे पनि होलसेलमा कसैलाई पनि नदिएको लक्ष्मीले दाबी गरिन् । उमेरले पाँच दशक पुगेकी लक्ष्मीको परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी हो ।

 

‘तरकारी भएका बेला बिहान ६ बजे बिक्रीका लागि निस्कन्छु’, उनले भनिन्, ‘दिउँसो १–२ बजेमात्रै तरकारी बिक्री गरेर घर आउँछु ।’ तरकारी बिक्री गरेर घर फर्केपछि बारीमा तरकारी लगाउन व्यस्त हुने गरेको उनको भनाइ छ ।

 

सासुससुरा, बिरामी श्रीमान् र पाँच छोराछोरीको लालनपालन, पढाइ तथा घरखर्च लक्ष्मीले तरकारी बिक्रीबाट भएको आम्दानीले चलाउँदै आएकी छिन् । छोरीहरुको उच्च शिक्षा, बिहेवारी र छोरालाई इन्जिनियर पढाउने आम्दानी पनि तरकारीखेतीबाटै भइरहेको लक्ष्मीले बताइन् ।

 

‘घरखर्च, छोराछोरीको बिहेवारी, पढाइ खर्च सबै यसैबाट चलाउँदै आएकी छु’, उनले भनिन्, ‘यसका अलावा बचत भएको रकमबाट साढे दुई तलाको घर, चापाकोटमै नौ रोपनी जग्गा र बुटवलमा नौ धुर जग्गा जोडेकी छु ।’

 

छोरीहरूको बिहेवारी भइसकेको र छोरा पढ्नका लागि बाहिर भएकाले अहिले आफू एक्लै तरकारीखेती गर्दै आएको उहाँले अनुभव सुनाइन् । परिश्रम गर्न सके आम्दानी गर्न सकिने प्रशस्त बाटा रहेका उनको बुझाइ छ ।

 

‘उत्पादन भएका तरकारी आफैँ बिक्री गर्न हिँड्दा कतिले तल्लो छेउ पारेर पनि बोल्छन्’, लक्ष्मीले भनिन्, ‘आफ्नो काम गरेर खाँदा पनि त्यस्तो व्यवहार गर्छन्, श्रमको सम्मान नहुँदा दुःख लाग्छ तर, यही पेसाले यहाँसम्म ल्यायो, म खुसी छु ।’

 

गत वर्षमात्रै उनले २५ मुरी गुन्द्रुक बिक्री गरेकी थिइन् । गत वर्ष १० मुरी गुन्द्रुक काठमाडौँमा बिक्री गरेकी थिइन् भने अरु स्थानीय चापाकोट बजारमै बिक्री गरेकी थिइन् ।लक्ष्मीको खेतबारीमा अहिले करेला, घिरम्ला, टमाटर, काउली बन्दा, सिमी, बोडा, काक्रा, भिण्डी, लौकालगायत तरकारी छन् ।

Share: