
काठमान्डौ/लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाँच’ प्रशिक्षण सुरु भएको छ । जिल्लास्थित नेपाल मगर सङ्घको आयोजनामा साेमबारदेखि सुरु भएको प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुनेछ ।
मगर भाषा र संस्कृतिका जानकार दानबहादुर आलेले प्रशिक्षण दिने आयोजकले जनाएको छ । पछिल्लो समय मगर भाषा, मौलिक संस्कृति र परम्परा हराउँदै जान थालेकाले यसको संरक्षण एवं प्रवर्द्धन गरी आफ्नो पुख्र्यौली पहिचान युवा पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको सङ्घका सचिव हिरा पुनले जानकारी दिइन् ।
मगर बाहुल्य रहेको म्याग्दीमा मगर भाषा र लिपिका बारेमा नयाँ पुस्तालाई जानकारी दिन र पुर्खाको विरासतका रूपमा रहेको संस्कृति र परम्परालाई जोगाइ राख्न प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताइन् । सङ्घका सचिव पुनका अनुसार २०७८ को जनगणना अनुसार जिल्लामा एक लाख सात हजार ३३ जनसङ्ख्या रहेकामा मगर जातिका मात्रै ४६ हजार २५ रहेका छन् ।
म्याग्दीमा करिब चार सय वर्षअघि गुमेको मगर ‘ढुट’ भाषाको बारेमा पछिल्लो समय चासो बढ्न थालेको छ । सात वर्षअघि बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको थियो । उक्त प्रशिक्षणले निरन्तरता नपाउँदा सिक्न चाहना भएकाले समेत अवसर नपाएको अवस्थामा अहिले मगर भाषाका साथै संस्कृतिका धरोहर मानिने थाली र कौडानाँचको प्रशिक्षण राखिएको प्रशिक्षक आलेले बताए ।
जिल्लाका सम्पूर्ण मगर समुदायलाई उक्त अवसरको फाइदा लिन सङ्घ अनुरोध गरेको छ । मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर पर्नुका साथै सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका मगर समुदायका ज्येष्ठ नागरिक बताउँछन् ।