Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कैलालीमा १० महिनामा ६६१ घरेलु तथा साना उद्योग दर्ता – Lekhanpeeth

कैलालीमा १० महिनामा ६६१ घरेलु तथा साना उद्योग दर्ता

Share:

काठमान्डौ/कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन्। एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि र दुई सय ३५ सेवामूलक गरी छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए।

 

पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ। महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढ्दै गएको कार्यालयले जनाएको छ।

 

कैलालीमा हालसम्म १५ हजार चार सय ९६ उद्योग दर्ता भएका छन्। कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा उत्पादनमूलक तीन हजार दुई सय १५, कृषिमूलक छ हजार पाँच सय १७, निर्माणका दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ८५ उद्योग दर्ता भएका छन्। दर्ता उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको छ।

 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योग सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन्। कार्यालयमा गएर आधिकारिक रुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका ती उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत जोशीको भनाइ छ।

 

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ९६ उद्योगमा २५ अर्ब रूपैयाँ लगानी प्रस्ताव गरिएको छ। यसैगरी चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यालयले एक करोड ४४ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन गरेको उनले बताए।

 

गत आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले ५२ लाख १६ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। वाणिज्य तथा आपूर्ति कार्यालयले तीन हजार छ सय ७६ व्यावसायिक फर्म घरेलु तथा साना उद्योग कार्यालयलाई हस्तान्तरण गरेका कारण गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा राजस्व संकलनमा वृद्धि भएको जनाइएको छ।

Share: