खैरो हिरोइनसहित चार जना पक्राउ

Share:

काठमान्डौ/लागुऔषध खैरो हिरोइनसहित मोरङमा अलगअलग समयमा चार जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीको टोलीले सीमानाका क्षेत्रबाट चार जनालाई पक्राउ गरेको हो ।

 

प्रहरीले विराटनगर ढाटबाट सुन्दरहरैँचा नगरपालिका–४ का २१ वर्षीय मदन चौधरी र भोजपुरको अरुण गाउँपालिका–१ का २० वर्षीय विनोद शिवालाई पक्राउ गरेको हो । खानतलासी गर्दा उनीहरूको साथबाट ४१.३३ ग्राम खैरो हिरोइन बरामद भएको थियो । भारतको जोगबनीबाट खैरो हिरोइन लागुऔषध खरिद गरेर फर्किँदै गरेका चौधरी र शिवालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

त्यस्तै, सोही ढाटबाट सुनसरीको दुहवी नगरपालिका–४ का २० वर्षीय पारस चौधरी र झापाको गौरादह नगरपालिका–२ का ३५ वर्षीय सञ्जीव खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जोगबनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका चौधरी र खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट २.५३ ग्राम खैरो हिरोइन बरामद भएको थियो ।

 

खैरो हिरोइनसहित पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

 

Share: