
काठमान्डौ/संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेस गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिब र सम्बन्धित निकायका पदाधिकारीहरुसँग काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिका लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल गरेको थियो । सोही छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।
त्यस्तै समितिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्वाध आपूर्तिका लागि उक्त निकुञ्जसम्बन्धी नियमावलीको अनुसूचीमा उल्लेखित रोयल्टी लगायतका आवश्यक विषयमा तत्काल आवश्यक संशोधन गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी खानेपानी आपूर्तिका लागि ईआईएसम्बन्धी प्रक्रिया टुंग्याई सहजीकरण गरिदिन पनि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।


