त्रिशूलीमा बेपत्ता बस खोज्न आजदेखि नयाँ प्रविधि प्रयोग

247
0
Share:

काठमान्डौ/नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलताल भन्ने स्थानमा झरेको पहिरोमा परेर बेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरूको खोजीका लागि आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ ।

 

खोजीमा सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको जनाएको प्रहरीले पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले नयाँ प्रविधिमार्फत आज बिहानैदेखि खोजी कार्य जारी रहेको जानकारी दिए ।

 

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरूको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।

 

सशस्त्र प्रहरीको गोताखोरसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाँसका भाटासहित एयर ड्रोन, वाटर ड्रोन, चुम्बक, बाइनाकुलर, टेलिस्कोप, एंकर हुक लगायतका उपकरणमार्फत् खोज्दै आएका थिए । त्यसमा सोमबारदेखि भाडामा लिएर अत्याधुनिक सोनार क्यामरा पनि प्रयोग गरिएको हो ।

 

आइतबार गृह मन्त्रालयका सचिव, सशस्त्र र नेपाल प्रहरी प्रमुख लगायतको टोली सिमलतालमा पुगेर खोजीमा भइरहेको कामबारे जानकारी लिएका थियो । त्यसपछि अत्याधुनिक सोनार क्यामेरा सिमलताल झिकाइएको हो । नयाँ उपकरणसहित प्राविधिक टोली गएराति नै काठमाडौँबाट सिमलताल पुगेको थियो । सो उपकरण सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको थियो ।

 

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी जनक पुरीका अनुसार यो उपकरणले धमिलो पानी भए पनि नदी भित्र भएको बस्तुको आकृतिबारे जानकारी दिन्छ । त्यसको सहयोगमा आज बिहानैबाट बसको खोजी सुरु गरिएको उनले बताए । अहिले बसको खोजीमा ४० जना सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्ति र्‍याफ्टिङ्ग तथा मोटरबोटसहित परिचालित छन् ।

 

चितवनका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार उक्त उपकरणलाई मोटर बोटमा जडान गरेर खोजी कार्य अगाडि बढाइएको छ ।

 

सो उपकरणबारे जानकार एक जना प्राविधिकका अनुसार त्यसलाई पानीभित्रको भूबनोटको समेत सर्भे गर्न सकिन्छ । त्यसले एक विशेष किसिमको आवाज उत्पादन गर्छ र उक्त आवाज कुनै पनि वस्तुमा ठोक्किएपछि उक्त वस्तुले आवाज परावर्तन गरेको आधारमा सो वस्तुको आकृति पत्ता लगाउन सकिन्छ ।

 

सो उपकरणले निरन्तर उत्पादन गर्ने आवाज र कुनै वस्तुले निरन्तर परावर्तन गर्ने आवाजको आधारमा बसको आकृति अनुमान गर्न सकिने हुँदा यसले त्रिशूली नदीमा हराइरहेको बसको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सकिने विश्वास छ ।

 

त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरूको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।

Share: