
काठमान्डौ/प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका छन् ।माओवादी अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री पदबाट हटेसँगै प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका हुन् ।
यस्तै अर्को प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता रवि लामिछाने पनि राज्य व्यवस्था तथा सुशासन समितिमा फर्किएका छन् । यसअघि उक्त समितिमै रहेका लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेपछि समितिबाट स्वतः हटेका थिए । त्यसपछि रास्वपाको तर्फबाट हरि ढकाल उक्त समितिको सदस्य बनेका थिए । लामिछाने समितिको सदस्यमा मनोनीत भएसँगै यस ढकाल सार्वजनिक लेखा समिति पुगेका छन् ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा नेपाली काँग्रेसका सांसद पूर्णबहादुर खड्का, एमाले सांसद राजेन्द्रकुमार राई पनि मनोनीत भएका छन् ।
सभामुख देवराज घिमिरेले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्यमा माओवादी सांसद हितबहादुर तामाङ, एमाले सांसद हरिप्रसाद उप्रेती मनोनीत भएका छन् । अर्थ समितिमा माओवादी सांसद वर्षमान पुन, एमाले सांसद पदम गिरी, भगवती चौधरी र रास्वपाका सांसद विराजभक्त श्रेष्ठ मनोनीत भएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा रास्वपाका डोलप्रसाद अर्याल र एमाले सांसद रघुवीर महासेठ मनोनीत भएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माओवादी सांसद रेखा शर्मा र रास्वपाका सांसद सुमना श्रेष्ठ मनोनीत भएका छन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्यमा एमाले सांसद ज्वालाकुमारी साह र शिक्षा समितिबाट कृषि समितिमा मीना यादवको हेरफेर गरिएको छ ।
यस्तै पूर्वाधार विकास समितिमा माओवादी सांसद शक्तिबहादुर बस्नेत मनोनीत भएका छन् । संघीय संसद्को संसदीय सुनुवाइ संयुक्त समितिका सदस्य रमेश लेखक गृहमन्त्री भएसँगै उनको ठाउँमा कांग्रसका सांसद श्यामकुमार घिमिरे मनोनीत भएका छन् । रास्वपाका सांसद स्वर्णिम वाग्लेको सट्टा डोलप्रसाद अर्याल उक्त समितिमा मनोनीत भएका छन् ।