
काठमान्डौ/उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस–एमाले जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे ।
‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ । कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौँ । सरकारमा गएर त्यो कटौती हुँदै छ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन । हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन,’ उनले भने ।
उनले राजनीतिक स्थायित्व दिनका लागि कांग्रेस एमालेसँग मिलेको समेत बताए । ‘७/८ महिनामा सरकार चेञ्ज भइराख्ने, टिक्ने नटिक्ने सरकारले केही गर्न नसक्ने भएकाले ठूलो दल मिलेको छौँ । यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ,’ उनले भने ।



