बेनी–दरबाङ सडक दुई दिनपछि खुल्यो

73
0
Share:

काठमान्डौ/अविरल वर्षासँगै पहिरो खसेर दुई दिनदेखि बन्द भएको पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक आज बिहानदेखि खुलेको छ । बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२, सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरो पन्छाएर सडक खुलाइएको हो ।

 

वर्षासँगै सडकमा खसेर थुप्रिएको ढुङ्गा, माटो र गेगरलाई जेसिभी मेसिनको सहयोगले हटाएपछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरबाङ सडकमा वर्षासँगै पहिरो खसेपछि गएको शनिवार रातिदेखि नै सडक बन्द भएको थियो । पहिरोको अवरोध पन्छाएर सडक खुलेपछि अहिले यातायात सेवा सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

Share: