Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट – Lekhanpeeth

ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट

158
0
Share:

काठमान्डौ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।

 

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो । भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमासमेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।

 

मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताए। आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने उनले बताए।

 

दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडिबीलाई आग्रह गरे । उनले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताए।

 

भेटमा एडिबीका प्रतिनिधि काउकोइसले एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराएका थिए । उनले एडिबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताए।

 

भेटमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए।

Share: