
काठमान्डौ/विश्व अर्थतन्त्रमा पहिलो हुने तयारीमा रहेको चीनले पछिल्लो समय अफ्रिकी मुलुकसँगको व्यापारलाई पनि अघि बढाएको छ ।
सन् १९९० को दशकपछि विश्व समुदाय अघि देखा परेको चीनले प्रविधिका साथै अन्य क्षेत्रको विकासमा छलाङ नै मारेको छ । विश्वमा आफ्नो प्रभुत्व कायम गर्ने दाउमा रहेको चीनले अफ्रिकी मुलुकको विकासमा साझेदार मात्र बनेको छैन व्यापारमा समेत आफूलाई प्रमुख हिस्सेदारको रूपमा अघि बढाएको देखिन्छ ।
अफ्रिका महादेशका ४० वटा मुलुकमा आफ्नो प्रभाव बढाउँदै लगेको चीनले एक वर्षमा ती देशसँग २२० अर्ब अमेरिकी डलरबराबरको व्यापार गरेको बताइएको छ । पछिल्ला दुई दशकमा चीनले अफ्रिकासँगको व्यापारमा व्यापकरूपमा वृद्धि गरेको र यो शिलशिला बढ्ने क्रममा रहेको छ ।
चीनले अफ्रिका महादेशभरि सडक, रेल्वे तथा बन्दरगाह निर्माणमा अर्बौं रुपियाँ खर्च गरेको छ । चीनले यो काम चीन–अफ्रिका सहकार्य मञ्च (फोकाक) मार्फत् अफ्रिकी महादेशका ४० राष्ट्रमा ५० अर्ब अमेरिकी डलर सहयोग गर्दै आएको छ । यसमा सैन्य सामग्री पनि सामेल भएको छ ।
चीनले सन् २०२२ मा मात्रै अफ्रिकामा ५ अर्ब डलर लगानी गरिसकेको छ । चीनले त्यो लगानी नयाँ यातायात सञ्जाल, ऊर्जा केन्द्र निर्माण र खानीहरूको विकास तथा बन्दरगाहमा गरेको हो । चीनले ती मुलुकबाट तेल र खनिज पदार्थ आयात गर्दै आएको छ भने आफ्ना देशमा निर्मित बस्तु निर्यात गर्दै आएको छ ।