दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो

205
0
Share:

काठमान्डौ/चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्त्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।

 

देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरेको जनविश्वास अनुसार हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास अनुसार आज बिहानैदेखि स्नान र दर्शनका लागि भक्तजन आउने क्रम रहेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

 

दशनार्थीलाई सहज रूपमा स्नान र दर्शन गर्ने व्यवस्था मिलाइएको बताउँदै उनले आज साँझसम्म करिब २० हजारले मेला भर्ने अनुमान गरिएको उल्लेख गरे । आज मेला भर्न काठमाडौंसहित ललितपुर, भक्तपुर र उपत्यकाका आसपास क्षेत्रबाट धार्मिक पर्यटकको आगमन भइरहेको नगरप्रमुख गिरीले जानकारी दिए ।

 

मेलामा कुनै पनि सङ्कट आइनपरोस् भनेर मङ्गलबार साँझ दह तथा त्यस परिसरमा दिप प्रज्वलन गरिएको थियो । इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत कलात्मक रूपले राखिएको छ ।

 

कलङ्कीबाट करिब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह धार्मिक तथा ऐतिहासिक महत्त्व रहेकाले मेला लोकप्रिय बन्दै गएको नगरप्रमुख गिरीले बताए । मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करिब एक सय स्वयंसेवक परिचालन गरिएको छ ।

 

Share: