
काठमान्डौ/लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीव्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ । अष्ट्रेलियाको सरकारी तथ्याङ्क अनुसार अष्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानहरू मार्फत ९०४ भन्दा बढी अष्ट्रेलियालीहरूले सोमबारसम्म लेबनान छोडेका छन् ।
यसरी उद्धार भएकामध्ये अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाबाट लेबनानमा गई बसोबास गर्दै आएका बासिन्दा तथा उनीहरूका परिवारका सदस्यहरू रहेको जनाइएको छ ।
अष्ट्रेलिया सरकारले शनिबार अष्ट्रेलियालीहरूका लागि बेरुतबाट साइप्रसका लागि अष्ट्रेलियाली ध्वजाबाहक क्वान्टास र कतार एयरवेजका दुईवटा चार्टर उडानहरू सञ्चालन गरेको थियो । क्वान्टास र कतार एयरवेजले साइप्रसबाट सिड्नीका लागि गरिएका उडानमार्फत् उनीहरूलाई अष्ट्रेलिया पुर्याएका थिए ।