Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
२४ घरले चन्दा उठाएर बनाएको पोखरीमा माछापालन र डुंगा सयर – Lekhanpeeth

२४ घरले चन्दा उठाएर बनाएको पोखरीमा माछापालन र डुंगा सयर

142
0
Share:

काठमान्डौ/दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भंगेटारका स्थानीयले चन्दा संकलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुंगा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ।

 

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भंगेटारका २४ घरले चन्दा संकलन तथा श्रमदान गरी साढे छ रोपनी जग्गामा निर्माण गरेको कृत्रिम तालमा डुंगा सयरसँगै व्यावसायिक माछापालन गरिएको हो।

 

रिचार्ज पोखरी बनाउने उद्देश्यले आठ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि काठको डुंगा निर्माण गरेर व्यावसायिकरूपमा सञ्चालन गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताए।

 

‘खार्मीको काङ्साहोप, बाँझोबारी, रमितेडाँडा, निँगालेडाँडा लगायतका ठाउँहरू आफैमा पर्यटकीय क्षेत्र हो। यसको पर्यटन प्रवर्द्धन गर्न सकेमा वडाको मात्र नभई नगरपालिकाको समेत आम्दानीको स्रोत वृद्धि हुन्छ,’ उनले भने, ‘कृत्रिम तालमा जम्मा भएको पानीमा माछापालन व्यवसायसमेत उपयुक्त हुने भएकाले ग्रासकार्प प्रजातिका १९ किलो माछाका भुरा ल्याएर हालेका छौं।’

 

जमिन रिचार्ज गर्नुका साथै तल्लो क्षेत्रका स्थानीयको खेतबारीमा सिँचाइ गर्न मिल्नेगरी निर्माण गरिएको ‘एल’ आकारको ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि डुंगा सयर गर्ने स्थलकोरुपमा विकास हुँदै गएको छ।

 

तालमा दुई वटा काठको डुंगा निर्माण गरेर सञ्चालन गरिएको छ भने, सयर गर्ने आन्तरिक तथा बाह्य पर्यटकबाट एक सय लिने गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई डुंगा सयर गराउने तालिम प्राप्त व्यक्तिलाई रु ५० र समितिमारु ५० रकम जम्मा गर्ने गरिएको सञ्चालक समितिले जनाएको छ। डुंगा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट सङ्कलन भएको रकम ताल सरसफाइ तथा व्यवस्थापनमा खर्च गर्ने गरिएको छ।

 

तालमा डुंगा सयर गर्ने र हेर्नेको भीड लाग्न थालेपछि तालसम्म पुग्नका लागि कच्ची सडकसमेत निर्माण गरिएको सचिव तामाङले बताए।

 

‘तामाङ भाषामा मट्यांग्रा तथा मूर्ति बनाउने माटोलाई ‘काङ्सा’ र खाल्डोलाई ‘होप’ भन्ने गरिन्छ। मट्याग्रा तथा मूर्ति बनाउने माटो भएको ठाउँमा ताल निर्माण गरिएकाले तालको नाम ‘काङ्साहोप ताल’ राखेका छौं,’ उनले भने, ‘कच्ची सडकसमेत निर्माण गरेर सञ्चालनमा आएपछि तालमा डुंगा सयर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ।’

 

नियमित पानी पलाउने ठोट्नेखोल्सा मुहान भएको सानो खाल्डोलाई स्काभेटरले फराकिलो बनाएर निर्माण गरिएको काङ्साहोप तालमा व्यावसायिकरुपमा पालिएका माछाको हेरचाह स्थानीयबासी आफैले गर्दै आएका छन्।

 

टाढाबाट झट्ट हेर्दा पानको पातजस्तो आकृति देखिने काङ्साहोप तालमा हिउँदको समयमा समेत पानी कम हुन नदिन नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हाल्ने गरिएको जनाइएको छ। काङ्साहोप तालबाट दुई मिनेट पैदल यात्रा गर्दा पुगिने पश्चिम दिशामा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ।

 

समुन्द्री सतहदेखि करिब एक हजार सात सय मिटर उचाइमा रहेको काङ्साहोप तालबाट उच्च हिमशृङ्खला तथा टाढा–टाढाका मनोरम दृश्याहरुको सजिलै अवलोकन गर्न सकिन्छ। स्थानीयबासीकै सक्रियतामा बाँझोबारीबाट सिधै काङ्साहोप ताल पुग्ने छोटो दूरीको सडक निर्माण गरेपछि आवतजावतमा समेत सहज भएको छ।

 

संघ, प्रदेश र स्थानीय सरकारबाट आवश्यक बजेट प्राप्त भएको खण्डमा काङ्साहोप तालको क्षेत्रफल थप बढाउन सकिनेगरी विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०समेत निर्माण गरिएको ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर श्रेष्ठले जानकारी दिए। बाह्रै महिना पानी पलाउने खाल्डोलाई स्थानीय बासिन्दाले कृत्रिम तालको रूपमा विकास गरेपछि वडा कार्यालय खार्मीले तीन वर्षअघि उपलब्ध गराएको दुई लाख ५० हजार बजेटबाट ड्याम निर्माण गरिएको छ।

 

चार वर्षअघि निर्माण गरिएको काङ्साहोप तालभन्दा तल्लो भेगमा यसअघि सुकिसकेका पानीको मुहानमासमेत पुनः मुल फुटेको स्थानीयबासीले बताएका छन्। काङ्साहोप तालभन्दा करिब एक सय मिटर तल नयाँ मुल फुटेपछि ताल निर्माण उपभोक्ता समितिका सचिव तामाङले व्यक्तिगत लगानीमा यसै वर्षबाट माछापालन सुरु गरेका छन्।

Share: