
काठमान्डौ/सोमबार उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। यो क्रम आज दिनैभरी रहने छ। उनकाअनुसार मंगलबारबाट मात्रै मौसममा सुधार आउने देखिन्छ।हामीले तिहारमा पानी पर्छ भनेर यसअघि नै प्रक्षेपण गरेका थियौं। भोलिबाट मात्रै मौसममा सुधार आउँछ,’ उनले भने।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा अहिले पश्चिमी वायु, स्थानीय वायुको प्रभावका छ। त्यस्तै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावका कारण वर्षा भइरहेको हो।
सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको थियो। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको छ ।