Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु – Lekhanpeeth

सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

145
0
Share:

काठमान्डौ/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले आजदेखि ‘परम्परागत चिनियाँ चिकित्सा सेवा’ सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा गरे। मानव शरीर, प्रकृति, र ऊर्जा (क्यूआई) को सन्तुलनमा आधारित यो चिकित्सा विधिले नेपालको स्वास्थ्य सेवामा नयाँ आयाम थपेको बताइएको छ।

 

परम्परागत चिनियाँ चिकित्सा प्रणाली हजारौँ वर्ष पुरानो पद्धति हो। यसमा एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना), र खानपानसम्बन्धी परामर्शजस्ता विधिहरू समावेश छन्। यी विधिहरूले आधुनिक चिकित्सा प्रणालीसँग समायोजन गर्दै उपचारलाई थप प्रभावकारी बनाएको सिभिल अस्पतालले जनाएको छ।

 

कार्यक्रमका क्रममा मन्त्री गुप्ताले नेपाल-चीन सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ सहयोग महत्त्वपूर्ण रहने बताए। उनले परम्परागत चिनियाँ चिकित्सा सेवाले नेपाली नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन योगदान दिने विश्वास व्यक्त गरे।

 

यसै क्रममा चिनियाँ राजदूत छेन सोङले परम्परागत चिनियाँ चिकित्सा सेवाले दुई देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई अझ बलियो बनाउने बताए। उनले सिभिल अस्पताललाई दक्षिण एसियाकै विशिष्ट अस्पतालका रूपमा विकास गर्न सहयोग गर्न चीन प्रतिबद्ध रहेको धारणा राखे।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य प्रणालीमा नयाँ र वैकल्पिक विधिहरूको समावेशले नागरिकलाई गुणस्तरीय सेवा दिन सघाउने बताए। सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विधान निधि पौडेलले परम्परागत चिनियाँ चिकित्सा सेवा वैकल्पिक उपचार खोज्नेहरूको लागि महत्त्वपूर्ण अवसर भएको बताए।

 

उनका अनुसार काठमाडौँमा यो सेवा सुरु गरिनु राजधानीमै मात्र नभई सम्पूर्ण देशका लागि एउटा नमुना केन्द्र बनाउने उद्देश्य रहेको छ। आयुर्वेदिक औषधिदेखि अकुप्रेसर, फिजियोथेरापी र एक्युपञ्चरसम्मका विधिहरू यस प्रणालीमा समावेश गरिएको उनले जानकारी दिए।

 

कार्यक्रमका क्रममा प्रा. डा. पौडेलले कार्ड सेल ल्याब स्थापनाका लागि पहल गर्न अनुरोध गर्दै यो सेवा स्थापना भएमा नेपाललाई एसियाकै चिकित्सा केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने बताए।

 

सिभिल अस्पतालले परम्परागत चिनियाँ चिकित्सा सेवामार्फत नागरिकलाई सहज, प्रभावकारी, र वैकल्पिक उपचार सेवा दिने लक्ष्य लिएको छ। यसले चिकित्सा क्षेत्रमा नवीन विकल्प प्रस्तुत गर्दै स्वास्थ्य सेवाको दायरालाई फराकिलो बनाउने अपेक्षा गरिएको छ।

 

कार्यक्रममा चिनियाँ राजदूत छेन सोङ, आर्थिक तथा वाणिज्य दूत से यु, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मिरा आचार्य, र परराष्ट्र मन्त्रालयका उपसचिव मणिराम शर्मा लगायतको उपस्थिति थियो।

Share: