Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका वर्तालु – Lekhanpeeth

परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका वर्तालु

243
0
Share:

काठमान्डौ/साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका वर्तालुले चार दिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन्। वर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गरेका थिए। पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ। माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ। त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ। अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ। माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति बर्तालु साँखु पुगेका हुन्।

 

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ। भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ। साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ। माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन वर्तालुलाई खीर(तस्मी) खुवाउने प्रचलनसमेत छ। माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ। भोलिपल्ट चाँगुबाट साँखु फर्किने परदेश यात्राको नियम छ।

 

परदेशमा भोजन गर्ने स्थान

 

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ। पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पि¬ङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ।

 

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि वर्तालुले लानुपर्छ। नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताए। परदेश यात्रामा वर्तालुका साथ स्वयंसेवक पनि हुन्छन्। वर्तालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ।

 

परदेश यात्रा विघ्नबाधाबिना नै सम्पन्न भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए। वर्तालुको परदेश यात्राका क्रममा पशुपति क्षेत्र विकास कोष, स्थानीयवासीलगायतले पनि सहयोग गरेको उनले सुनाए। पनौतीतिरको परदेश यात्रा शनिबार गरिने समितिले जनाएको छ। माधवनारायण व्रत कठोर व्रतमध्येमा पर्छ। कठोर व्रत भए पनि वर्तालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन्।

 

श्रीस्वस्थानी व्रतकथा गौरीमाताको स्वरूपमा

 

माघमा गरिने श्रीस्वस्थानी व्रत र पूजा आराधनाको विशेष महत्त्व छ। श्रीस्वस्थानी भनेको को हो भन्ने प्रश्न पनि उठ्ने गरेकामा गौरीमाताकै अर्को स्वरूप भएको धर्मशास्त्रविद्ले बताएका छन्। स्वस्थानीमा वर्णन गरिएका तीर्थस्थल नेपालकै छन्।

 

धर्मशास्त्रविद् तोयराज नेपाल स्वस्थानी परमेश्वरी भनेकी पनि भगवती गौरीमाताको नै एउटा स्वरूप भएको बताउँछन्। त्यसैकारण सदाशिवका साथमा स्वस्थानीको पूजा गर्नु भनेको शिवपार्वतीकै पूजा गरेको भनी विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको जानकारी उनले दिए।

 

वेद, शिवपुराण, देवीपुराण, देवीभागवत, महाभारत आदि विभिन्न ग्रन्थमा दक्षपुत्री सतीदेवी नै शिवकी प्रथम पत्नी भन्ने बताइएको छ। कालिकापुराण, बृहद्धर्मपुराण, त्रिपुरारहस्य आदि ग्रन्थका अनुसार सृष्टिका आदिमा ज्ञानस्वरूप परमेश्वर एक मात्र थिए। परमेश्वरलाई क्रीडा गर्ने इच्छाशक्ति प्रकट भएपछि परमेश्वरकी पराशक्ति प्रकृति अलग भइन्।

 

परमपुरूष शिव र प्रकृतिस्वरूपिणी भगवती गौरी सर्वप्रथम स्वयं दिव्य रूपमा उत्पन्न भएका थिए। अनि गौरी नै शिवकी प्रथम शक्तिका रूपमा शिवका साथमा रही विभिन्न लीला गरिरहिन्। कालान्तरमा दक्षप्रजापतिले भगवती गौरीको तपस्या आराधना गर्न लागे। त्यसैबेला परमपुरूष शिव अन्तर्धान भए। अनि भगवती गौरीले सबैतिर खोज्दा शिवलाई नभेटी दुःखित भएर गौरीले पनि आफ्नो स्वरूप लुप्त गरेर आकाशस्वरूपिणी भएर रहिन्। यस विषयलाई शास्त्रीय ग्रन्थमा यसरी उल्लेख गरिएको छ।

Share: