
काठमाडाैं । नेपालको डेटा संरक्षणका सवालमा मलेसियाको डिपिएक्स एसिया र नेपालकै वन कभर प्रालिबीच समझदारी गरिएको छ । नेपालमा पहिलो पटक ल्याउन लागिएको व्यक्तिगत डेटा संरक्षणसम्बन्धी कानुन तयार गर्न आवश्यक नीति तथा प्रविधिगत सल्लाह र अध्ययनमा सहयोग पुर्याउने उद्देश्यसहित पाँच वर्षका लागि समझदारीपत्रमा हस्ताक्षर भएको वन कभर कम्पनीले जनाएको छ ।
यो सहकार्य विशेष गरी नेपालका लागि भए पनि एसियाका अन्य मुलुकहरूले समेत डिजिटल सुरक्षाको कानुनी संरचना तयार गर्न अपनाउन सक्ने नमुना बन्न सक्ने विश्वास गरिएको छ ।
समझदारीपत्रमा डिपिएक्स एसियाका अध्यक्ष प्रा. अबु बकर मुनिर र वन कभरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौताअन्तर्गत, नेपाल सरकारलाई व्यक्तिगत डेटा संरक्षण विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न परामर्श दिने, डिजिटल सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, राष्ट्रिय तथा क्षेत्रीय डेटा सुरक्षाका मापदण्ड विकास गर्न सहयोग पुर्याउने र नेपालको डिजिटल पूर्वाधारमा अन्तर्राष्ट्रिय अभ्यास लागु गर्ने लक्ष्य राखिएको छ ।
डिपिएक्स एसियाले मलेसिया, ब्रुनाइ, इन्डोनेसिया र खाडी क्षेत्रका देशहरूमा डेटा संरक्षण सम्बन्धी परामर्श, तालिम, मूल्यांकन र कानुनी मापदण्डहरू विकास गर्दै आएको छ । वन कभरले नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, नेपाल टेलिकम, वित्त मन्त्रालय लगायत दर्जनौं सरकारी तथा निजी निकायहरूमा सूचना सुरक्षा र जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
वन कभरका प्रमुख अधिकारी चिरञ्जीवी अधिकारीले व्यक्तिगत गोपनीयता संरक्षण गर्न अन्तर्राष्ट्रिय अनुभव आवश्यक रहेकोले यो सहकार्य गरिएको बताए।
डिपिएक्स एसियाका अध्यक्ष प्रा. अबु बकर मुनिरले भने, ‘नेपाललाई मात्र नभई सम्पूर्ण एसियाली क्षेत्रलाई डिजिटल खतराबाट सुरक्षित राख्न, साझा मान्यता र कानुनी आधार बनाउनु आवश्यक छ। हामी यस दिशामा नेपालको प्रयासमा साथ दिन पाउँदा उत्साहित छौं।’
डिपिएक्स एसिया सन् २००० देखि डेटा गोपनीयता र साइबर सुरक्षासम्बन्धी परामर्श दिने मलेसियास्थित संस्था हो । यसका गतिविधि युएई, कतार, साउदी अरेबिया, इन्डोनेसिया लगायत देशहरूमा फैलिएको छ।
संस्थाले डेटा सुरक्षा प्रभाव मूल्यांकन, गोपनीयता डिजाइन, अनुपालन परीक्षण, तालिम र प्रमाणीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
वन कभर प्रालि सन् २०१८ मा स्थापना भएको काठमाडौंस्थित साइबर सुरक्षासम्बन्धी कम्पनी हो । यसले आइटी प्रणाली परीक्षण, नेटवर्क सुरक्षा, जोखिम मूल्यांकन र नीतिगत सल्लाह जस्ता सेवा प्रदान गर्दै आएको छ ।